सुदूरपश्चिममा माओवादीभित्रको अन्तरकलह झन्–झन् बल्झिँदै


काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको अन्तरकलह बल्झिँदै गएको छ ।

अन्तरकलह बढ्दै जाँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले खगराज भट्टलाई दलको नेता बनाउन संसदीय दललाई गत असार १२ गते दिएको लिखित निर्देशन हालसम्म पनि अलपत्र छ ।

सांसदहरूबीच सरकारमा जाने तँछाडमछाड र विभिन्न लाभका पद प्राप्त गर्ने हानथापबाट सुदूरपश्चिममा सुरु भएको माओवादी अन्तरकलह सुल्झिनुको साटो गहिरिँदै गएको छ । विवाद नसल्टिनुमा अध्यक्ष दाहालको दोहोरो भूमिका र शीर्ष नेताहरूको फरक–फरक गुटको चलखेल मुख्य कारण रहेको माओवादी केन्द्र प्रदेश कमिटीका नेताहरू बताउँछन् ।

सुदूरपश्चिममा पनि नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्माका बेग्लाबेग्लै गुट छन । माओवादी केन्द्रका बहुमत सांसदहरूले संसदीय दलका नेता खगराजलाई ०८० माघ १२ मा हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरेपछि कलह चुलिएको हो ।

धामीले प्रदेशसभामा दलको नेताको मान्यता पाएसँगै त्यही बिन्दुबाट माओवादी केन्द्रभित्र सुदूरपश्चिममा भइरहेको अन्तरद्वन्द्व छताछुल्ल भएको छ । जुन विवाद अहिले पनि जहाँको त्यहीँ छ ।

भट्टलाई दलको नेताबाट हटाउने निर्णय भएलगत्तै प्रदेश कमिटीले विधानविपरीत र केन्द्रीय कार्यालयको निर्देशनको अवज्ञा गर्दै संसदीय दलको नेता हटाएकामा आपत्ति जनाउँदै तत्काल निर्णय सच्याउन संसदीय दललाई निर्देशन ग¥यो । प्रदेश अध्यक्ष र हरिराम चौधरी (उत्सव) र सचिव जनकबहादुर बुढाद्वारा हस्ताक्षरित पत्र संसदीय दलको कार्यालयमा पठाइएको थियो ।

तर, संसदीय दलमा धामी समूहले भने पार्टी प्रदेश कमिटीको निर्देशन अमान्य मात्रै भनेन, अर्थहीन भन्दै सुनुवाइ नै गरेन । संसदीय दलमा नेता धामीले प्रदेश कमिटीको पदाधिकारी बैठकको निर्णय त्रुटिपूर्ण भएको बताउँदै उनले प्रदेश कमिटीका नामबाट आएको निर्देशनलाई ‘केही व्यक्तिहरूको निर्देशन’ भन्दै अवैधानिक करार गरेका थिए ।

त्यसपछिका दिनहरूमा अपरिहार्य भए बाहेक संसदीय दलको बैठक नियमित बस्न सकेको छैन । माओवादी केन्द्रभित्र कांग्रेस नेतृत्वको सरकारमा मन्त्री पठाउने बेलादेखि नै विवादको बिउ रोपिएको थियो । सांसदहरू मन्त्री हुन हानाथाप गरिरहेका बेला दलका नेता रहेका भट्टले रमेशसिंह धामी र झपटबहादुर साउँदलाई मन्त्री सिफारिस गरेका थिए ।

अर्कोतिर लगातार दुई पटक चुनाव जितेर आएका अछामका अक्कलबहादुर रावल र दार्चुलाका मानबहादुर धामी आफूमाथि अन्याय गरिएको भन्दै भट्टबिरुद्ध खनिएपछि विवाद शुरु भएको हो । विवाद मत्थर हुनुको साटो झन्–झन् बढ्दै गएको माओवादी केन्द्रका नेताहरु स्वीकार गर्छन् ।

प्रतिक्रिया