

भारतले प्रधानमन्त्री ओलीलाई चलाएको प्रचण्डको प्रष्ट संकेत

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मोहरा बनाएर नेपालको संविधानमा धावा बोलाउने काम भारतले गरेको प्रष्ट संकेत गरेका छन्।
उनले भारतको नाम नलिए पनि संविधान निर्माणका बेला धावा बोलेका शक्तिले ओलीको प्रयोग गरेको बताए। ‘संविधान बनाउने बेलामा धावा बोलिएका शक्तिहरुले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई दलालको रुपमा, मोहोराको रुपमा प्रयोग गर्न सफलता प्राप्त गरे’, धुलिखेलमा भएको एउटा प्रशिक्षणमा प्रचण्डले भने।
संविधान घोषणाका बेला भारतले तत्काल रोक्नका लागि भनेको थियो। यस्तै हालका विदेशमन्त्री, तत्कालिन विदेश सचिव एस जयशंकर सोही कामका लागि प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा आएका थिए।
प्रचण्डले संसद् विघटन, संविधान क्षतविक्षत गर्ने कार्य त्यसैको परिणाम भएको बताउँदै भने,‘अझै पनि खतराको कालो बादल मडारीराखेकै छ। नेपाली जनताले आफ्नो चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन्छ। नेपालीहरुलाई निरीह हौ तिमीहरु भनेर बनाउने चाहनाहरु पूरा पनि हुन सक्छन्।’
प्रचण्डले केही दिनयता नेपालीमा आत्मनिर्णयको अधिकार नरहेको भन्ने सन्देश दिन खोजिएको बारे बारम्बार चर्चा गर्दै आइरहेका छन्। यहि संकेतको पृष्ठभूमीमा प्रचण्डले त्यसो भनेका हुन्।

