याक एण्ड यति र एभरेष्ट होटल बिक्रीमा, कारण यस्तो


काठमाडाैं- कुनैबेला पाँच तारे होटलको रुपमा चर्चित बनेका याक एण्ड यति र एभरेष्ट अहिले बेचिन लागेको चर्चा चलेको छ । होटल याक एण्ड यति सन् १९७७ मा सेप्टेम्बर २७ तारिखमा पर्यटन दिवसको अवसरमा होटल सञ्चालनमा आएको थियो । भने, एभरेष्टले २०४२ माघ २२ गते पहिलोपटक स्तर वर्गीकरण भएर पाँचतारे स्तरको मान्यता पाएको थियो ।

दुवै होटलका सञ्चालक भारतीय हुन् । दरबारमार्गको लाल दरबारमा भएको याक एण्ड यतिका संस्थापक राधेश्याम सराफ थिए । तर, उनको २०७८ चैतमा निधन भएपछि हाल उक्त होटल उनका परिवारका सदस्यले चलाइरहेका छन् ।

याक एण्ड यतिले क्यासिनो चलाएवापतको करिब आधा अर्ब रुपैयाँ नतिरेका कारण विवादित छ । दुई वर्ष अगाडि तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले होटललाई बन्द गराउन निर्देशन दिएको भएपनि अदालतले होटल बन्द नगर्नु भनेर आदेश दिएको थियो । तर, क्यासिनोको रोयल्टी नतिरेकाले यो होटल नविकरण भएको छैन भने पर्यटन विभागले याक एण्ड यतिलाई पाँच तारे होटलको सूचीबाट हटाइदिएको छ ।

त्यस्तै पाँचतारे होटलको ताज खोसिएको एभरेष्ट पनि पूर्णरुपमा सञ्चालनमा छैन । लागूऔषध तस्करी मुद्दामा पक्राउ परिसकेका सञ्चालक मस्कुर अहमद लारीले नवीकरणबिना नै होटल सञ्चालनमा राखेका छन् ।

सरकारी निकायको तथ्यांकमा भने होटल एभरेष्ट २०७२ सालको भूकम्पपछि बन्द छ । तर, होटल मर्मत गरेर पछिल्लो दुई वर्षदेखि आशिंकरुपमा निरन्तर सञ्चालन भइरहेको छ ।

नविकरण नगरिएको तथा बक्यौता रोयल्टी नतिरेकाले दुवै होटलका क्यासिनो भने पूर्णरुपमा बन्द छन् ।

कुन होटलको कति मूल्याङ्कन ?
सञ्चालनकहरुले याक एण्ड यति होटलको बिक्रीका लागि ३० अर्ब रुपैयाँको मूल्याङ्कन गराएको छ । ५७ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा २४७ वटा कोठा छन् । ५७ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा ठूला ठूला ५ वटा कन्फ्रेन्स तथा इभेन्ट्स हलहरु छन् । स्वीमिङ पुल, स्पा र क्यासिनो लगायतका संरचना पनि होटलमा छन् ।

यस्तै नयाँबानेश्वरस्थित एभरेष्ट होटल व्यवस्थापनले बिक्रीका लागि १० अर्ब रुपैयाँको मूल्याङ्कन गराएको बताइएको छ । ३१ रोपनी जमिनमा बनेको बनेर ‘द होटल एभरेष्ट इन्टरनेसनल’का नाममा चल्दै आएको यो होटल २०७२ सालदेखि नवीकरण भएको छैन । १६० कोठा भएको यस होटलमा राखिएको क्यासिनो पनि पछिल्लो समय सञ्चालनमा छैन । नवीकरण नै नगरी व्यवस्थापन पक्षले पटक–पटक होटल बिक्रीको प्रयास गरिरहेको छ ।

कोरोना महामारीपछि आएको आर्थिक मन्दीको असर होटल व्यवसायमा पनि परेको देखिन्छ । सोही कारण पछिल्लो समय होटल क्षेत्रले अपेक्षाकृत व्यवसाय बढाउन सकेको छैन । पाँचतारे होटलको संख्या थपिँदै गएका कारण व्यवासय धरासय बनिरहेको होटल सञ्चालकहरुको तर्क छ ।

अर्कोतर्फ नेपालमा हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने क्षमताका होटल सञ्चालनमा आइसकेको भएपनि पर्यटक आगमन वार्षिक १० लाखमात्रै हुने गरेको पाइएको छ । त्यसै कारण एक तिहाइभन्दा बढी होटल खाली नै रहने गरेको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए ।

उनले खर्चालु पर्यटक नबढेका कारण पाँचतारे होटलसम्म चल्न गाह्रो परेकोले बिक्री गर्न खोजेको तर्क गरे ।

 

 

प्रतिक्रिया