


‘मसँगै लैजान्छु भनेर छोरीहरूलाई पनि विष खुवाएँ’

काठमाडाैं- मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई बालिकाकी आमाले पनि विष सेवन गरेको पाइएको छ ।
सुन्दरहरैँचा–७ को एक केरा बगानमा अर्जुन कार्कीका छोरीहरु ३ वर्षकी अर्पणा र एक वर्षकी आइका कार्की शनिबार दिउँसो मृत भेटिएका थिए । ५ दिनपछि उनीहरुका आमा अस्मितालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
उनलाई आजै प्रहरीले सार्वजनिक गरेको छ । साेही क्रममा अस्मिताले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । `मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ,´ सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, `श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ ।´
प्रहरी प्रमुख कार्कीले उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।

