७० वर्षपछि आफ्नै अत्याधुनिक भवनमा काठमाडौं प्रहरी परिसर


काठमाडाैं- विसं २०१२ मा जिल्ला प्रहरी कार्यालय काठमाडौं भनेर महानगरीय प्रहरी परिसर स्थापना भएको थियो । त्यो बेला सो कार्यालय वसन्तपुरस्थित हनुमानढोकामा रहेको थियो । विसं २०२३ सालमा ‘केरकार’ शाखाको रुपमा अपराध महाशाखा स्थापना भयो । त्यसपछि दुवै निकाय एकै ठाउँमा रहँदै आएको थिए ।

तर, २०७२ को भूकम्पपछि काठमाडौं परिसर र महाशाखा पूर्णरूपमा विस्थापित भए । भूकम्पले प्रहरी कार्यालय ध्वस्त बनाएपछि दुवै कार्यालय टेकुस्थित नेसनल ट्रेडिङको भवन(हाल नेपाल आयल निगमको स्वामित्व) र खाली रहेको जग्गामा अस्थायी रूपमा बस्दै आएका थिए । त्यहाँ पालमुनी बसेर परिसरले सेवा दिँदै आएको थियो ।

संघीय राजधानी काठमाडौंको सुरक्षा जिम्मा पाएको जिल्ला प्रहरी परिसर काठमाडौं अहिले भने आफ्नै जग्गामा बनेको सुवायुक्त भवनमा सरिसकेको छ । असार २६ गते भद्रकालीस्थित निर्माण भएको नयाँ भवनबाट परिसरले सेवा दिन सुरु गरेको हो ।

एसएसपी धानुकको पालामा भएको त्यो काम
७० वर्षसम्म अरुको जग्गा कब्जा गरेर सेवा दिइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंको आफ्नै भवन बन्नुमा तत्कालीन एसएसपी रविन्द्र धानुकको ठूलो हात रहेको छ । २०७४ भदौं ७ गते परिसर प्रमुखको जिम्मेवारी सम्हालेका उनले त्योबेलाका गृहमन्त्री जनार्दन शर्मालाई जग्गाका बारेमा आग्रह गरेपछि सरकारले काठमाडौँ प्रहरीको भवन निर्माणको जग्गा खरिदका लागि एक अर्ब २० करोड निकासा गरेको थियो ।

त्यसपछि भद्रकालीमा रहेको नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गामा काठमाडौं प्रहरीको अत्याधुनिक कार्यालय भवन निर्माण कार्य सुरु भएको थियो । ८० करोड रुपैयाँमा कूल लागतमा बनेको भवन ८ तलाको छ । कूल क्षेत्रफलमध्ये भवनका स्ट्रक्चर मात्रै ६ रोपनीमा फैलिएको छ ।

काठमाडौं परिसरका अनुसार भवनको मुख्य भागमा परिसरमा कार्यरत एसएसपीदेखि प्रहरी निरीक्षकसम्मको छुट्टाछुट्टै कक्ष छन् । पिलरअनुसार विभाजन गरिएका कार्यकक्ष दर्ता हुने मुद्दा र सेवाग्राहीको चापका दृष्टिले निर्माण गरिएका छन् । भवनभित्र प्रहरीका लागि ब्यारेकसमेत छ । भवनमा हिरासत कक्ष निर्माण गरिएको छ ।

पार्किङका लागि अन्डरग्राउन्डमा ठाउँ छुट्याइएको छ । जहाँ एक सय गाडी र दुई सयभन्दा बढी मोटरसाइकल अटाउँछन् । भवनभित्र एकैपटक दुई सयजना अटाउने कन्फरेन्स हल छ । एक सयजना अटाउने अर्को बैठक कक्ष पनि छ । प्रहरीका लागि सुविधासम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष तथा मनोरञ्जन कक्ष पनि भवनभित्र निर्माण गरिएका छन् ।

प्रधानमन्त्रीद्वारा नयाँ भवन उद्घाटन
भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । सोमबार बिहान आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले भवन उद्घाटन गरेका हुन् ।

उद्घाटना कार्यक्रममा बोल्दै ओलीले आफूले हनुमान ढोकामा जेल जीवन बिताउँदा सास्ती भोगेको स्मरण गराउँदै अहिलेको सुवाधासम्पन्न भवन बन्नु ठूलो उपलब्धी भएको बताएका छन् । उनले प्रहरीलाई काम गर्न पूर्ण स्वतन्त्रता रहेको समेत बताए ।

 

 

प्रतिक्रिया