डिउटी गर्दागर्दै अस्ताए प्रहरीका दुई सहायक हवल्दार


काठमाडाैं- डिउटीकै क्रममा दुईजना प्रहरी सहायक हवल्दारको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत प्रहरी सहायक हवल्दार टंक बहादुर बोहरा र सङ्खुवासभाकाे मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाकाे निधन भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बझाङ अपराध नियन्त्रण तथा अनुसन्धान समुह दरबन्दी भई अछाममा कार्यरत बोहरालाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नागरिक सहायता कक्षमा डिउटीमा खटाइएको थियो । तर उनी डिउटीकै क्रममा साढे दुई बजेको समयमा अचानक बेहोस भएका थिए ।

तत्काल उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा उपचारका लागि लगिएको थियो । उनकाे उपचारकै क्रममा सवा ३ बजे निधन भएको अछाम प्रहरीले जनाएको छ । उनको घर मंगलसेन नगरपालिका वडा नम्बर ८ ओलिगाँउ हो ।

यस्तै मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएका थिए ।

मृतकको शव परीक्षण आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ । शव परीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया