लापरबाही गरेको भन्दै बैतडीको एक स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मीलाई सरुवा गर्ने निर्णय
बैतडी- बैतडीको पाटन नगरपालिका–१० को सिद्धपुर स्वास्थ्य चौकीमा कार्यरत सबै कर्मचारीहरुलाई सरुवा गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । बिहिबार बसेको स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
स्वास्थ्यकर्मीहरुले कार्यसम्पदानमा चरम लापरवाही गरेको भन्दै सबै कर्मचारीहरुलाई सरुवा गरी अन्य कर्मचारीहरुलाई यस स्वास्थ्य चौकीमा कामकाजमा पठाउन आग्रह गर्दै नगरपालिकालाई निर्णयसहितको निवेदन पेश गरेको छ ।
स्वास्थ्य चौकीमा काम गर्दै आएका अनमी लगायतका स्वास्थ्यकर्मीहरुले सुत्केरी हुन आएका महिलाहरुलाई सेवा नदिएको, प्रशासनिक काम सही ढंगबाट नगरेको, कर्मचारीहरु समयमा स्वास्थ्य चौकीमा उपस्थित नभएको, स्थानीय सरकारको नियम पनि नमानेको लगायतका विषय उल्लेख गर्दै कर्मचारीहरुको सरुवा गर्ने निर्णय गरिएको हो । सो निर्णय कार्यान्वयनको माग गदैै पालिकालाई पत्र पठाइएको छ ।
पालिकाबाट निर्णय कार्यान्वयन नभएपनि जिल्ला प्रशासन र स्वास्थ्य निर्देशनालयमा समेत जाने स्वस्थ्य चौकी व्यवस्थापन समितिले पत्रमै उल्लेख गरेको छ ।
कर्मचारीहरुले सही ढंगबाट काम नगरेको र आम नागरिकबाट व्यापक गुनासो आएपछि बाध्य भएर यो निर्णयमा पुगेको वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर कुवँरले जानकारी दिए ।
गत साउन २९ गते राति सोही वडाको डुब्केबाट एक महिलालाई सुत्केरी हुनका लागि स्वास्थ्य चौकी ल्याइएको थियो । स्वास्थ्य चौकीमा अनमी भेटिएनन् । त्यसपछि आफन्तले फोन गर्दा एक जना अनमतीले आफ्नो ड्युटी नरहेको जानकारी गराइन् । ड्युटी भएको भनिएका अनमीले फोन उठाइनन् ।
त्यसपछि सुत्केरी व्यथाले च्यापेकी महिलालाई डडेल्धुरा लैजाने निधो गरे । ती महिलाले बाटोमै (भालुमारे पुग्दा) बच्चा जन्माइन् । अवस्था जटिल भएपछि उनलाई डडेल्धुरा अस्पताल पुर्याएर दोस्रो दिन घर ल्याए ।
सुत्केरी महिलाको अवस्था जोखिममा रहेका बेला स्वास्थ्य चौकीबाट सामान्य सहयोग समेत नपाएपछि स्थानीयहरु आक्रोसित हुदै दोस्रो दिन स्वास्थ्य चौकीमा पुगेका थिए ।