दुर्घटनामा ३ जनाको मृत्यु


काठमाडौं — पर्सा, रुपन्देही र सप्तरी जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका-२ जानकी टोलास्थित सडकमा पटेर्वासुगौलीबाट टिउकीतर्फ जाँदै गरेको प्र.२-०३-००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा चालक छिपहरमाई गाउँपालिका-३ टिउकी बस्ने ५० वर्षीय प्रेम मुखिया बिनको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ दिपनगरस्थित सडकमा कमलपोखरीबाट सोमबारे बजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१३ बेलबास बस्ने गुल्मी मदाने गाउँपालिका-६ घर भएका १९ वर्षीय शिशिर कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्व पश्चिम राजमार्गमा मधेस प्रदेश-०३-००१ ख ८१८१ नम्बरको ट्रक अनियन्त्रित भई पुलबाट करिब २० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने २५ वर्षीय सबिन राईको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया