नेतृत्व छाड्नु पर्ने प्रस्तावबारे प्रचण्ड : ‘केही हुँदैन सबै मिलेर जान्छ’


काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखितरूपमा नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा उनले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने प्रस्ताव राखेका हुन् । जारी वैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र सबै मिलेर जाने दावी गरेका छन् । स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव आए पनि मिलेर जाने बताए । नेतृत्व हस्तान्तरणबारे उनले भने, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।’

अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने, दोस्रो तहका नेताहरूले खबरदारी गर्ने र तेस्रो तहका नेताहरूलाई पार्टीको नेतृत्वमा ल्याउनुपर्ने शर्माको प्रस्ताव छ । अध्यक्ष प्रचण्डले आक्रामक शैलीमा आफूलाई कुनै टेन्सन नभएको भाव प्रकट गरेका थिए । यस विषयमा पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि प्रष्ट पारेका थिए । उनले नेतृत्व हस्तान्तरणको विषयमा कुरा उठेको स्वीकारे । तर, ती सबै समस्या समाधान भएर जाने उनको दाबी छ ।

‘प्रस्ताव आउने वित्तिकै सबै कुरा भइहाल्छ भन्ने हुँदैन नि । यस विषयमा व्यापक छलफल भइरहेको छ । राम्रो निचोड निस्किन्छ भन्ने कामना गरौं,’ उनले भने । बैठकमा ५ जनाले बोलेको र सबैको चिन्तन राजनीति र रणनीतिमा बढी केन्द्रित रहेको प्रवक्ता सापकोटाले बताए । बैठकमा संसदमा रहेका ३२ जनालाई गुणात्मक ढंगबाट परिचालित गर्ने र सडकसम्म जोड्ने विषयमा छलफल भएको प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया