बढ्दै डेंगुको सङ्क्रमण, २ जनाको ज्यान गयो


काठमाडाैं-  नेपालमा पछिल्लो समय डेंगुको सङ्क्रमण बढ्दो छ । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ ।

हालसम्म २ जनाको डेंगु संक्रमणबाट मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगु संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो।

केही दिनअघि डेंगु संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको थियो भने त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डंगी संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी संक्रमण देखिएको छ ।

सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु सङ्क्रमण भएकोमा २० जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०२२ मा ५४ हजार ७८४ जनामध्ये ८८ जनाको मृत्यु भएको थियो ।

डेंगु विशेषगरी  लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरुलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने स्वास्थ्यकर्मीहरूकाे सल्लाह दिएका छन् ।

प्रतिक्रिया