पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


जुम्ला- पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो ।

शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा सानाठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् ।

गगनेखोलामा ठूलो ढुङ्गासहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको छ। बिहानदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सूचना अधिकारी जिटीले बताए ।

‘सबैभन्दा ठूलो ढुंगासहितको पहिरो गगनेखोलामा आएको छ। चार–पाँच किमीको दूरीमा अन्य स्थानमा पनि पहिरो गएको जानकारीमा अएको छ । गगनेखोलाको ढुङ्गालाई पन्छाउने र सम्भव नभए ‘ब्रेकर’ लगाएर फुटाल्ने तयारी छ,’ उनले भने ।

गगनेखोलाबाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने कार्य सकिएपछि सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजनको मेसिनसहित जनशक्ति बिहानदेखि पहिरो पन्छाउने काममा लागिरहेका छन् ।

खसेको ढुङ्गा ठूलो भएकाले पहिरो पन्छाउन समय लाग्ने जिटीले बताए। गोगनेखोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्गमा कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया