एआईजी ज्ञवालीको जग्गा खोज्दै प्रहरी


काठमाडौं – नेपाल प्रहरीले छानबिनमा परेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको अचल सम्पत्तिको खोजी गरेको छ ।

प्रशासन विभागका एआईजी टेक प्रसाद राईको संयोजकत्वमा बनेको ५ सदस्यीय छानवीन समितिले प्रहरीमा समानान्तर संगठन चलाएको, चेन अफ कमाण्ड उल्लंघन गरेको, नक्कली भुटानी शरणार्थी काण्डमा घोटाला गरेको, ६० किलो सुन, भेप सुन काण्डमा आर्थिक लेनदेन गरि अभियुक्तलाई बचाउन खोजेको, नेपाल प्रहरीको संगठनलाई व्याक्तिगत हित र आफ्नो स्वार्थ अनुकुल परिचालन गरेको र अकूत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन गरिरहेको छ ।

छानबिनका क्रममा समितिले एआईजी ज्ञवालीविरुद्ध अकूत सम्पत्ति आर्जनको समेत उजुरी परेकाले त्यस विषयमा पनि छानबिन सुरु गरेको छ । समितिले ज्ञवालीको स्वामित्वमा नगरकोट, काभ्रे र मोरङमा रहेको जग्गाहरुको खोजी गरिरहेको छ ।

पूर्व गृहमन्त्री रवि लामिछानेको आडमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ‘कू’ गर्ने प्रयास गरेका एआईजी ज्ञवालीलाई अहिले आईजी कुँवरले छानबिन समिति बनाएर कारबाहीको दायरामा ल्याउन लागेका छन् । सोही अवस्थामा ज्ञवालीमाथि आधादर्जन आरोपहरु लगाई छानबिन गरि कारबाही गर्ने तयारी गरिएको पनि प्रहरीले जनाएको छ ।

एआईजी ज्ञवालीको छानबिनका लागि एआईजी टेकप्रसाद राईको संयोजकत्वमा अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई, उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् ।

त्यसका साथै ज्ञवालीमाथि पछिल्लो राजनीतिक खेलोफड्कोको मौकामा पदीय मर्यादाको दुरुपयोग गरेको र चेन अफ कमाण्ड तोडेको आरोप लागेको छ ।

गत फागुनमा लामिछानेले सुन काण्डको थप प्रभावकारी अनुसन्धान गर्ने भन्दै ज्ञवालीलाई त्यहाँ लगेका थिए । ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने, बालमन्दिरको जग्गा घोटाला, सेन्चुरी बैंकको ठगीलगायत विभिन्न प्रकरणमा लेनदेन गरेकोसमेत उजुरी छ ।

प्रतिक्रिया