दक्षिणकालीमा मृत भेटिएका दुई विद्यार्थीले विष खाएको आशंका


काठमाडौं – काठमाडौंको नगरपालिका-१ खहरेस्थित चाल्नाखेल जंगलमा मृत भेटिएका २ जना विद्यार्थीले विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ। शुक्रवार १० कक्षामा अध्ययनरत नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङको शव भेटिएको थियो।

उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदैछ। मृतकको शव भेटिएको ठाउँमा विषको बट्टा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताए। नुवाकोट छापा घर भएका अर्जुनको शव भेटिएको ठाउँभन्दा करिब १५ मिटर पर सेल्फोस नामको किटनाशक औषधीको बट्टा भेटिएको सिहंले जानकारी दिए।

सिंहका अनुसार मंगलको शव भेटिएको ठाउँभन्दा १ सय मिटर पर पनि सेल्फोसको बट्टा फेला परेको छ। सेल्फोस गहुँ बालीमा प्रयोग गरिने किटनाशक औषधी हो। ‘उनीहरुको शव पोष्टमार्टम हुँदैछ,’ प्रमुख सिंहले भने, ‘पोष्टमार्टम रिपोर्टपछि मृत्युको एकिन कारण थाहा हुन्छ। घटनाबारे हामीले अनुसन्धान पनि गरिरहेका छौं।’

अर्जुन र मंगल साथी हुन्। अर्जुन असनस्थित टेउडा स्कुलमा पढ्थे भने मंगल क्षेत्रपाटीस्थित जिपी स्कुलमा पढ्थे। प्रहरी अनुसन्धानबाट उनीहरु लागुऔषध प्रयोगकर्ता समेत रहेको थाहा भएको छ। चैत ५ गते बिहान १० बजे उनीहरु घरबाट निस्केका थिए। सोही क्रममा उनीहरुको चाल्नाखेल जंगलमा मृत भेटिएका थिए।

प्रतिक्रिया