सीएका लागि सरकारी दरबन्दी श्रृजना गर्ने अर्थमन्त्रीको प्रतिबद्धता


काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेन्ट (सीए)हरुका लागि दरबन्दी श्रृजना गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।

शनिबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दशौँ परिषद्को पहिलो कार्यकालको अध्यक्ष तथा उपाध्यक्षको सपथ ग्रहण समारोहमा उनले यस सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘राज्यमा सम्बन्द्ध निकायमा सीएका लागि दरबन्दीको सृजना हुनुपर्ने यहाँहरुको मागका विषयमा मेरो सकारात्मक दृष्टिकोण छ, केही महिना लाग्ला तर यो मागलाई सार्थक तुल्याउनका लागि अर्थमन्त्रीका हैसियतमा मैले सार्थक पहल लिनेछु’, उनले भने।

उनले आइक्यान कुनै न कुनै रुपमा सरकारसँग जोडिएको संस्था भएको उल्लेख गर्दै संस्थाको प्रभाविकारितासँग मुलुकको लेखा प्रणाली जोडिएको बताए। सरकार यस संस्थासँग जीवन्त र घनिष्ठ सम्बन्ध कायम राख्ने विषयमा कटिबद्ध रहेको उनको भनाइ थियो।

अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्य परायणता मुलुकको उन्नतिको पूर्वसर्त रहेको भन्दै आर्थिक पारदर्शिताका लागि सरकार यस संस्थासँग सहकार्यका लागि तयार रहेको उल्लेख गरे।

प्रतिक्रिया