संसद् विघटन गर्ने सरकारको निर्णय सदर भए नेपाल ठूलो राजनीतिक भूमरीमा फस्छ : प्रचण्ड


काठमाडाैं – दाहाल–नेपाल नेकपा  समूहका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनीतिक भूमरीमा फस्ने बताएका छन् ।

नेपालबाट अन्तराष्ट्रिय सञ्‍चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसँग मंगलबार काठमाडौंमा भएको भेटमा प्रचण्डले बाहिर सुन्‍नमा आएजस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भूमरीमा फस्‍ने दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ भनेर आफूलाई नलागेको उनले बताएका छन् । उनले ओलीको कदम अनुसार नै भयो भने आफूहरुले गम्भीर रुपमा विचार गर्नुपर्ने अवस्था सृजना हुने बताए ।

प्रचण्डले प्रधानमन्त्री ओली आफैँले प्रतिगमन गरेर आफैँ प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्‍चर्यजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधान विरोधी कदमविरुद्ध आफूहरु संघर्षमा लाग्‍नु स्वभाविक भएपनि सरकार पक्षले नै सभा गरेर तेश्रो जनआन्दोलन सुरु भयो भन्‍नु लोकतन्त्रविरुद्धको उपहास भएको बताए ।

प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन लम्ब्याउन खोजेको र त्यो पुरा नहुने ठोकुवा उनलेले गरे । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तराष्ट्रिय समुहदायसँग समर्थनका लागि अपिल पनि गरिएको उनले बताए ।

प्रतिक्रिया