सम्झनाको ऐतिहासिक अर्धशतकमा नेपाल विजयी

महिला एसिया कपमा नेपालको पहिलो जित


काठमाडौं – महिला एसिया कप क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा युएईविरूद्ध नेपाल विजयी भएको छ।

नेपालका लागि ओपनर सम्झना खड्काको ऐतिहासिक अर्धशतकीय पारीमा नेपालले युएईलाई २३ बल अगावै ६ विकेटले पराजित गरेको हो।

सम्झनाले ४५ बलमा ११ चौकाको मद्धतमा अविजित रहँदै ७२ रन जोडेकी थिइन्। महिला एसिया कपमा नेपाली खेलाडीले बनाएको यो पहिलो ऐतिहासिक अर्धशतक हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १६ रनको लक्ष्य नेपाललाई दिएको छ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

नेपालको जितका लागि ब्याटिङतर्फ सम्झनाबाहेक सिता रानामगर ७, कविता कुँवर २ कप्तान इन्दु बर्मा ६ र रुबिना चौधरीले १० रनको योगदान गरिन्।

बलिङतर्फ नेपालका लागि भने कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन्। यस्तै, सबनम राई, कविता जोशी र कृतिका मरासैनीले समान १/१ विकेट लिए।

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो।

एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणबाट दुई-दुई टोली सेमिफाइनल पुग्नेछन्।

प्रतिक्रिया