लेखक र साउद केन्द्रमा देउवाका प्रिय तर जिल्लाका कट्टर दुस्मन


काठमाडौं – रमेश लेखक अहिले गृहमन्त्री छन् । एनपी साउद पटक–पटक मन्त्री भइसकेका पात्र हुन् । नेपाली कांग्रेसका यी दुई नेताको सम्बन्ध भने सौदार्यपूर्ण छैन् । दुवै नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । जिल्लामा भने उनीहरु आपसमा कहिल्यै मिल्दैनन् ।

कांग्रेस नेता–कार्यकर्ताकै भनाईमा उनीहरु दुस्मनजस्तै छन् । एकअर्काको समुहका व्यक्तिलाई सिद्याउन दुवै सक्रिय हुन्छन् ।

सभापति देउवाले उनीहरूलाई पटक–पटक बन्त्री बन्ने अवसर पनि दिएका छन् । पार्टीका केन्द्रीय सदस्य रहेका लेखक र साउदको गृहजिल्ला कञ्चनपुर हो ।

दुवैले कञ्चनपुरबाट राजनीति गर्छन् । कञ्चनपुर क्षेत्र नम्बर–३ बाट रमेश लेखक र २ नम्बर क्षेत्रबाट एनपी साउद निर्र्वाचित प्रतिनिधीसभा सदस्य हुन् ।

साउदको पुरख्र्यौली घर देउवाकै जिल्ला डडेधुराका हो भने लेखकको पुरख्र्यौली बैतडी । कञ्चनपुरमा र सुदूरपश्चिममै कोइराला पक्ष सशक्त छैन । त्यसैले देउवा पक्षकै बीचमा लेखक र साउदबीच बलियो दुस्मनीपूर्ण प्रतिस्पर्धा छ ।

०७४ सालको संसदीय निर्वाचनमा साउद र लेखक दुवै पराजित भए । लेखक ४०० भन्दा कम मतान्तरले पराजित भएका थिए ।

लेखक समुहले भने हारको कारण एनपी समुहलाई मान्दै आएको छ ।

नेताहरु भन्छन्,‘उनीहरुको गुट वडास्तरसम्मै छ । एकअर्कालाई निषेधको राजनीतिक गर्दै आएका छन् । यस्ता कार्यले पार्टीमा इमान्दार नेता कार्यकर्तामाथि अन्याय हुँदै आएको छ ।’

कांग्रेसका सबैजसो जिल्ला अधिवेशनमा साउद र लेखककै गुट प्रतिस्पर्धामा हुँदै आएको छ  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिमा दुई नेताको प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।

लेखक र साउदमा पार्टीमा को सिनयर भन्ने विवाद पनि ठुलै छ ।

लेखक अहिले गृहमन्त्री बनेका छन् । गृहमन्त्री बनेपछि उनको राजनीतिक उचाई भने बढेको छ ।

देउवाले दुवै नेतालाई मिलाएरै अवसर दिने गरेका छन् ।

एक नेताले भने,‘सभापतिजीलाई पनि समस्या छ । उहाँ दुवैलाई टाढा राख्न सक्नुहुन्न । तर उनीहरुले सरकारमा पाएको अवसरमा आफुलाई प्रमाणित भने अहिलेसम्म गर्न सकेका छैनन् ।’

प्रतिक्रिया