ओली–बामदेव राजनीतिक साइनोः हिउँ भन्दा चिसो, रगत भन्दा रातो!


काठमाडौं– नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली र बामदेव गौतमको राजनीतिक साइनो ‘हिउँ भन्दा चिसो र रगत भन्दा रातो’को शैलीमा अगाडि बढेको देखियो।

नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्किनुअघि ओली र गौतमको सम्बन्ध चिसो थियो।

एकै छिन नेकपा हुँदा गौतम र ओलीको साइनोलाई केलाऔं, त्यस अघिपछिको सम्बन्ध पनि खुटिनेछ।

जब पुष्पकमल दाहाल प्रचण्डले १९ पन्ने राजनीतिक प्रस्तावमा ओली प्रधानमन्त्री नभएर एउटा कठोर प्रवित्ति भनेका थिए। त्यसबेला सबैभन्दा अगाडि गौतमले भनेका थिए– यो हाम्रो सहमतिमा आएको प्रस्ताव हो।

उनले विभिन्न बैठकमा ओलीको व्यापक आलोचना गरेका थिए। आलोचनामा सकेसम्मको शव्द खर्च गरेका थिए।

जब नेकपामा विवाद सुरु हुन थालेको थियो बालुवाटारमा नभई पार्टी कार्यालयमा बैठक राख्नुपर्ने अडान र प्रस्ताव गौतमकै रहने गरेको थियो।

यति मात्र होइन, बैठकमा ओलीले कुराउने, पर्खाउने गरेको भन्दै नेकपाको सचिवालयमा गौतम नै खरो रुपमा प्रस्तुत भएका थिए। १९ बुँदे पनि गौतमको सहमति रहेका कारणले नै नेकपाभित्र ओली–प्रचण्डबीच बहुमतीय खेल सुरु भएको थियो।

‘गौतम मात्रै व्याक सरेको भए प्रचण्डले १९ बुँदे ल्याउने हिम्मत गर्ने थिएनन्, अहिले माधव नेपाल र ओली अनि एमाले विभाजित अवस्थामा हुने थिएन’, एक नेताले भने,‘गौतमको भूमिकाले अब माधवजीहरुले पार्टी छाडेर जाने अवस्था आएन र?’

साइनो

ओली र गौतमबीच राजनीतिक रुपमा अनौठो साइनो छ। अहिले एमाले भएपछि गौतम ओलीसँग मिलोमतोमा आएका छन्, शनिबारदेखि नै। उनलाई राष्ट्रिय सभा सदस्य बनाउने पनि ओली नै हुन्।

आठौं महाधिवेशनमा झलनाथ खनाललाई सहयोग गरी उपाध्यक्ष रहेका गौतमले नवौं महाधिवेशनमा ओलीको समर्थन गरी अध्यक्ष जिताए। उनी अहिले एमाले उपाध्यक्ष हुन्।

‘यो सम्बन्ध त कहिले हिउँभन्दा चिसो र कम्युनिस्ट भएकाले कहिले रगत भन्दा रातो जस्तो देखिएको छ’, गौतम निकट एक नेता भन्छन्,‘राजनीतिमा यस्तो सम्बन्ध दिगो हुन्छ। संगठन र संस्था नै भत्काउने सम्बन्धको के काम? हेर्नुस् त माधव नेपालहरूको गति?’

प्रतिक्रिया