

मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, को-को बन्लान् मन्त्री ?

काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि आज निर्णय लिने पार्टीको तयारी छ ।
नेपाली कांग्रेसबाट ओली सरकारमा प्रकाशमान सिंहको नेतृत्वमा जाने भएको छ । सिंहले उपप्रधान र रक्षामन्त्रीसहित कांग्रेसको नेतृत्व गर्ने तय भएको छ भने गृहमन्त्री रमेश लेखक हुने भएका छन् ।
त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्ने निश्चित भएको बुढानिलकण्ठ स्रोतले जनाएको छ । तीसहित अन्य मन्त्रीहरुको टुंगो पनि कांग्रेसले आजको बैठकले लगाउने जनाइएको छ ।

