‘महालेखाले पोखरा विमानस्थलबारे जथाभावी प्रतिवेदन बनायो, त्यसरी भविष्यमा विकास ठप्प हुन्छ’


काठमाडाैं- नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राविधिक परीक्षण नै नगरी पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भएको भनेर महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको बताएका छन् ।
साथै उनले तथ्यहिन प्रतिवेदन सम्प्रेषण गर्ने तत्कालिन महालेखाका लेखा परीक्षहरुसँग प्रत्यक्ष संवादको व्यवस्था मिलाएर विषयको निरुपण गर्न समेत आग्रह गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे महालेखा परीक्षकको कार्यालयले आफ्नो ६१औँ प्रतिवेदनमा कैफियत देखाएको थियो । सोही विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिद्वारा गठित संसदीय उपसमितिले स्थलगत अनुगमन गरिसकेको छ । उपसमितिका संयोजक एवं राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा ११ सांसद र २ कर्मचारीको टोली आइतबार पोखरा गएर अनुगमन गरेको थियो ।

उपसमितिलाई महानिर्देशक प्रदीप अधिकारीले महालेखाले उठाएको प्रश्नबारे प्रष्ट पारेका थिए । उनले उक्त प्रतिवेदनको भ्रममा नपरी पोखरा अन्तराष्ट्रिय विमानस्थल कम लागतमा निर्माण भएको देशको गौरव गर्न लायक आयोजना भएको बताएका थिए ।

उनले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख ‘विमानस्थलको रन–वेको पूर्वतर्फ रहेको छिने डाँडाको उचाइ ३० मिटर काट्नु पर्नेमा ४० मिटर काट्ने गरी रनवे धसाइएको’ भन्ने विषयमा भनेका थिए, ‘विमान उडान र अवतरणलाई अझ सुरक्षित बनाउनका लागि डाँडाको थप १० मिटर काटिएको हो ।’

यस्तै विमानस्थलको काम सन् २०१७ मै शुरु भएपनि खानेपानीको ट्याङ्की निर्माणको काम सन् २०१८ मा शुरु भएकाले ४ अर्ब ३४ करोड लगानीमा बनाइएको खाने पानीको ट्याङ्की भत्काउनु परेको अधिकारीले प्रष्ट पारेका थिए । उनले, ‘एउटा दुईतले घर बनाउन त नक्सा पास गर्ने महानगरले विमानस्थललाई प्रभावित हुनेगरी ट्याङ्की बनाउन दिनु कत्तिको उचित हो ? भन्दै समितिलाई प्रतिप्रश्न गरेका थिए ।

उनले प्राविधिक परीक्षण नै नगरी महालेखाले यस्तै प्रतिवेदन लेख्ने क्रम जारी राखेमा भविष्यमा काम गर्न कोही तयार नहुने भएकाले विकास निर्माणको काम ठप्प हुने संसदीय उपसमितिलाई बताएका थिए ।

यसअघि अधिकारीले प्रतिवेदनका उल्लेख भएको कैफियतका बारेमा महालेखा परीक्षकको कार्यालयमै गएर असन्तुष्टि राखेका थिए । आइतबार संसदीय उपसमितिले पनि महानिर्देशक अधिकारीले उठाएका विषयमा महालेखाका अधिकारीसँग  छलफल गर्ने बताएका थियो ।

०७३ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको पोखरा विमानस्थलको उद्घाटन ०७९ पुस १७ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ  । तर,  विमानस्थल उद्घाटन भएको झन्डै डेढ बर्षसम्म पनि अन्तर्राष्ट्रिय उडानहरु नियमित हुन नसकेकाे विषयमा महानिर्देशक अधिकारीले आफूहरु संवेदनशील र प्रयत्नशील रहेकाे बताएका छन् ।

‘हामीले विमानस्थल सञ्चालनका लागि वायुसेवाहरुलाई आकर्षित गर्न, ल्याण्डिङ्ग, पार्किङ्ग, सञ्चार सेवामा पूर्णतः छुट दिएका छौं भने भूमिस्थ प्रवन्ध सेवामा ५० प्रतिशत छटु दिएका छौं र अन्य के कस्ता विषयमा सहुलित दिन सकिन्छ भनेर परामर्शमा नै छौं’ उनले भने,  ‘सरकार, पर्यटन व्यवसायी, स्थानीय निकाय, सरोकारवाला पक्षहरु सवैलाई संवेदनशील भई आ–आफ्नो क्षेत्रबाट गर्न सकिने योगदानको लागी हामीले भनिरहेका छौं  । विमानस्थल सञ्चालनको लागि मूलतः सरकारकै तर्फबाट छिमेकी मुलुकहरुसँग उच्चस्तरको राजनीतिक एवं कुटनीतिक पहल हुन आवश्यक त छँदैछ । कम्तीमा काठमाडाैं आउने वायुसेवाहरुलाई निश्चित अनुपातमा गौतमवुद्ध, पोखरा विमानस्थलमा उडान गर्नुपर्ने वाध्यकारी व्यवस्था केही समय सम्मको लागि गरेर भएपनि विमानस्थल संचालन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

प्रतिक्रिया