सुदूरपश्चिम सरकार ढाल्ने तयारीमा काँग्रेस–एमाले, मन्त्रालयको संख्या पनि घटाउने


काठमाडाैं- सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच छलफल सुरु भएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले केन्द्रमा नयाँ सत्ता समीकरणका लागि समझदारी गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सरकार निर्माणका लागि पहिलो चरणको छलफल भएको हो ।

मंगलबार नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवा र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच महेन्द्रनगरमा छलफल भएको थियाे ।

छलफलमा सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा नेकपा एमालेका संसदीय दलका नेता रावलसँग छलफल भएको पूर्वमन्त्री देउवाले बताए ।

उनले केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिममा पनि काँग्रेस र एमाले मिलेर सरकार गठन गर्ने विषयमा कुराकानी भएको बताए ।

नयाँ राजनीतिक सहमतिपछि सुदूरपश्चिममा बढाइएको मन्त्रालय संख्या पुनः पहिलेकै अवस्था (७ मन्त्रालय)मा झार्न पनि छलफल भएको छ ।

प्रदेश सरकारको प्रतिपक्षमा रहेको कांग्रेसले मन्त्रालय फुटाएर सङ्ख्या बढाएपछि कडा विरोध जनाएको थियो । अब कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भएपछि मन्त्रालयको सङ्ख्या पूर्ववत् राख्नेबारे छलफल थालेको कांग्रेस प्रमुख सचेतक विक्रम धामीले बताए ।

सुदूरपश्चिम प्रदेशमा हाल नेकपा एमालेको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ । तर त्यहाँ काँग्रेस र एमाले मिल्दा मात्रै सरकार निर्माणका लागि बहुमत पुग्छ ।

 

प्रतिक्रिया