१८ वर्षपछि सिटौलाको सरकारमा ‘कमब्याक’, गृहमन्त्री बन्दै !


काठमाडौं – नेपाली कांग्रेसभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारमा कस्को नेतृत्वमा सहभागी हुने भन्ने चर्चा चल्न थालेको छ ।

सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको सहमतिअनुसार ओलीले सरकारको नेतृत्व गर्ने भएसँगै ९ मन्त्रालय र नेपाली कांग्रेसले १० मन्त्रालय पाउने तय भएको छ ।

गृहमन्त्रालयसहित १० मन्त्रालय पाउने भएसँगै नेपाली कांग्रेस कस्को नेतृत्वमा सरकारमा जाने भन्ने चर्चा चल्न थालेको हो । सरकारमा सामेल हुने भएसँगै कांग्रेसभित्रबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री लिएर कृष्ण सिटौला जाने सम्भावना देखिएको छ ।

सभापति देउवाका निकट रहेका सिटौला पछिल्लो समय राष्ट्रियसभा अध्यक्ष बनाउने योजनासहित राष्ट्रिय सभा सदस्यमा निर्वाचित गरिएको थियो । तर, राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाई नारायण दाहाल हुने भएपछि पछि सिटौलालाई पछाडि सारिएको थियो ।

सिटौला २०६३ सालयता सरकारमा सामेल हुन पाएका छैनन् । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६३ सालमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका सिटौला कांग्रेसभित्र गिरिजाप्रसादको विश्वासपात्र मानिन्छन् । तर, गिरिजाको अवशानपछि सभापति देउवाको समेत निकट रहेका कारण उनको नेतृत्वमा सरकारमा जाने निर्णय गरेमा अन्य आकांक्षीहरु पछि हट्ने पनि कांग्रेसका एक नेता बताउँछन् ।

यदि उनी अहिले पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएको खण्डमा १८ वर्षपछि सरकारमा ‘कमब्याक’ गर्नेछन् । राष्ट्रिय राजनीतिका चतुर एवं कुटील नेता मानिएका सिटौलाको संसद यात्रा भने त्यति सहज रहेन । प्रतिनिधि सभा निर्वाचनमा भने उनी पटक-पटक पराजित हुँदै आएका छन् । तर, यसपटक उनी राष्ट्रिय सभामार्फत संसद प्रवेश गरेका छन् ।

सरकारको नेतृत्वका लागि कांग्रेसभित्र प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि र पूर्णबहादुर खड्कालगायतका नेता आकांक्षी रहे पनि सिटौलाले नेतृत्व गरेको खण्डमा उनीहरू पनि पछि हट्ने पनि जनाइएको छ ।

 

प्रतिक्रिया