

फुटकै लयमा जनता समाजवादी पार्टी, पूर्व राजपाले बनायो ६ सदस्यीय अलग कार्यदल

काठमाडौं– सत्ता समीकरणका विषयमा विवादमा रहेको जनता समाजवादी पार्टी फुटको लयतिर लम्किएको छ। संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकीकरण गरी जसपा बनेको थियो।
केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न नसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र महतोको चर्काचर्की परेको विवरण सतहमा आएको थियो।
तल्ला तहसम्म एकीकरण हुन नसकेको उक्त दुई पार्टीलाई कसरी समायोजन गर्ने भन्ने खाका तयार पारिएको थिएन। तर सोही बीचमा प्रतिनिधि सभा विघटनदेखि नेकपा एमाले र माओवादी केन्द्र अलग हुँदा सत्ता समीकरणमा जसपा निर्णायक बनेको छ।
यहीबीचमा जसपाभित्रका पूर्व समाजवादी र जनता दलबीच असमझदारी पैदा भएको थियो। सत्ता समीकरणदेखि एकीकरणसम्मका विषयलाई टुंगो लगाउन पूर्व राजपाले ६ सदस्यीय कार्यदल पनि गठन गरिसकेको छ।
विहीबार नै पूर्व राजपाको अलग बैठक राखी यस्तो कार्यदल गठन भएको हो। कार्यदलमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, सञ्जय यादव, सुनिल रोहित, रमेश यादव छन्।
‘जसपामा उपेन्द्र, बाबुराम भट्टराईलगायतको कुरा मेल खाइरहेको छैन। यसैकारण समस्या समाधानका निम्ति हामीले कार्यदल बनाएको हो’, एक नेता भन्छन्,‘यसले एकीकरणका विषयदेखि सत्ता समीकरणसम्मको सम्भावनाका विषयमा सुझाव दिनेछ।’

