ओलीको विकल्पमा कांग्रेस, माओवादी र जसपा तयार : कांग्रेस महामन्‍त्री


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा छिटै अविश्वास प्रस्ताव आउने बताएका छन्। कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन बिहीबार विराटनगर पुगेका कोइरालाले संचारकर्मीहरूसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

संचारकर्मीहरूसँग कुरा गर्दै महामन्‍त्री कोइरालाले प्रधानमन्त्री ओली विरुद्ध अविश्वास प्रस्तावको तयारी र अन्य दलहरूसँग पनि छलफल भैरहेको बताए । उनले भने, हप्ता दस दिनभित्रै ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनसक्छ।’ ‘अविश्‍वास प्रस्तावबाटै मुलुकले निकास पाउने बताउँदै उनले भने, ‘ओली सरकार अवैधानिक भएकाले त्यसको विकल्प अनिवार्य छ।कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर ओलीको विकल्प दिनेछन्।’

शशांकले सर्वोच्चको पछिल्लो फैसलासँगै ओली सरकारले वैधानिकता गुमाएको बताउँदै यस्तो अवैधानिक सरकार लामो समय टिक्नु पनि देशका लागि घातक हुने बताए। उनले कांग्रेसकै नेतृत्वमा चुनावी सरकार गठन हुने विश्‍वास व्यक्त गरे। कांग्रेसले नेपाल र खनाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलाको प्रतिक्रिया हेरेर थप कदम अघि बढाउने रणनीति बनाएको छ। अविश्‍वास प्रस्तावबारे कांग्रेस नेतृत्वले माओवादी केन्द्र र जसपाका नेताहरूसँग विभिन्‍न चरणमा छलफल गरिसकेको छ।

प्रतिक्रिया