साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने


काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुने गरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् ।

शुक्रबार नीलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

वैदेशिक रोजगारी जाने होस वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले बताए ।

‘सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ । बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरू पुरा गर्न सक्छ,’ उनले भने । त्यसैले सीपमूलक कार्यक्रममा ठुलो लगानी गर्नुपर्ने उनले बताए ।

मन्त्री अर्यालले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवर्द्धन र व्यवस्थित गर्न मन्त्रालयले रोजगार बैंकको वृहत् अवधारणालाई अघि सारेको बताए । बैंकमा वैदेशिक रोजगारीबाट फर्के सबै श्रमिकको तथ्याङ्क संकलन गरिने उनले बताए ।

मन्त्री अर्यालले नीलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले संविधानले व्यवस्था गरेको संघीयताको बल्ल उचित कार्यान्वयन भएको समेत बताए ।

प्रतिक्रिया