बैतडीको सुर्नयाकी उपाध्यक्षलाई ज्यान मार्ने धम्की ! आरोपित भन्छन् –‘होइन, सामान्य हो’


काठमाडाैं- बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहराले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन् । गाउँपालिकामै कार्यरत कर्मचारीले आफू बस्ने क्वाटरबाहिर आएर ज्यान मार्ने धम्की दिएको उनले आरोप लगाएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमै उनले राति मदिरा पिएर जनप्रतिनिधिकै कोठामा आएर कर्मचारीले धम्की दिँदा आफू असुरक्षित भएको बताएकी छिन् ।

यसबारे बुझ्दा उनले बिहीबार राति सुरुमा गाउँपालिकाको रोजगार शाखामा कार्यरत सब इन्जिनियर लोकबहादुर विष्टले पशु स्वास्थ्य प्राविधिक उपेन्द्र कुमार शाहलाई धम्की दिएको बताइन् । धम्कीपछि आत्तिएका शाहले आफूलाई गुहार्दै फोन गरेको र त्यसपछि विष्टसहित अन्य व्यक्तिले आफ्नो कोठाबाहिर आएर पनि धम्की दिएको बताइन् ।

‘हिजो राति(बिहीबार) १० बजेतिर लोकबहादुर विष्टले उपेन्द्र शाहलाई धम्की दिएका थिए । पछि उहाँ(उपेन्द्र)ले मलाई फोन गरेर ‘‘म्याडम मलाई ज्यान मार्ने धम्की आयो’’ भन्नुभयो । मैले केही हुँदैन सुत्नुहोला भनेर सम्झाएको थिए’ उनी भन्छिन्, ‘फेरि राति साढे १२ बजेतिर रुँदै ‘‘मलाई मार्नलाई आइहाले म्याडम, ढोकामा ढकढक्याइरहेका छन्’ भनेर भन्नुभयो । उहाँले त्यो भनेको १० मिनेटपछि मेरो ढोकामा आएर ‘‘तपार्ईको ज्यानको सुरक्षा छैन । बाहिर निस्कनु’’ भनेर ढोका ढकढक्याए ।’

उपाध्यक्ष मञ्जुका अनुसार पानी परिरहेकाले त्यो बेला मोबाइलको नेटवर्क नभएकाले कतै सम्पर्क गर्न सकिएन । ‘तर, मैले फोन गरेजस्तो गरेर मान्छे बोलाएको नाटक गरेपछि उनीहरु भागे’ उनले भनिन् । उनका अनुसार दिउँसो आयोजना भएको मदिरा पार्टीमा सहभागी नभएका कारण शाहलाई धम्काएको थियो । उनले घटनाबारे आज(शुक्रबार) प्रहरीलाई जानकारी गराइसकेको बताइन् ।

शाहलाई फोनबाट दिएको धम्कीको अडियो रेकर्ड पनि बाहिर आएको छ । उक्त रेकर्डमा विष्टले शाहलाई, ‘भोलि अप्ठेरो पर्ला । यो तपार्ईंको मधेश होइन सुर्नया हो कुरा सुन मु** म देखाउँछु ’ भनेर आपत्तिजनक शब्द प्रयोग गरेका छन् ।

यो विषयमा सब इन्जिनियर विष्टलाई प्रतिक्रिया माग्दा उनले सामान्य कुरा भएको बताएका छन् । ‘होइन सर, म कहाँ गर्छु त्यस्तो । गाउँपालिका उपाध्यक्ष जस्तो मान्छेलाई धम्की दिन कहाँ पाइन्छ’ उनले भने, ‘शाहसँग पनि त्यस्तो केही भएको होइन, साथीभाईबीचको कुरा हो । अहिले कुरा गरिसके, मिलीसके ।’

प्रतिक्रिया