३१ करोड खर्चेर मर्मत गरिएका चार विमानस्थल प्रयोगविहीन


गण्डकी- करोडौं रुपैयाँ खर्चेर बनाइएका गण्डकी प्रदेशका चार विमानस्थल प्रयोगविहीन बनेका छन् ।

मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्र लगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा दश करोड, पालुङटारमा सात करोड, बलेवामा १२ करोड र ढोरपाटन विमास्थलमा दुई करोड रुपैयाँ खर्च भएको छ। मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

प्राधिकरणले २०६९ सालमा नौ करोड खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो। धावनमार्ग कालोपत्र भएपछि २०७६ भदौमा समिट एअरको विमानले परीक्षण उडान भरेको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन् ।

लाखौं रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गरे। “२०३९ सालदेखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ। लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि,” उनले भने ।

मनाङ पुग्ने अधिकांश पर्यटक पदयात्रामार्फत तिलिचो ताल र थोरङ भञ्ज्याङ हुँदै मुस्ताङतर्फ जाने गरेका छन् । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गरेको लामाले बताए। २०६९ सालमा मनाङ सदरमुकाम चामेमा सडक पुगेको थियो । सडक यातायातको सुविधापछि विमान चढ्ने यात्रु घटेको अनुमान गरिएको छ ।

बागलुङ नगरपालिका-१४ स्थित बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि आठ करोड २४ लाख रुपैयाँ खर्चेर धावनमार्ग कालोपत्र गरेको थियो। २०२२ सालमा बनेको यो विमानस्थल पोखरा-बागलुङ सडक बनेपछि २०४८ सालमा बन्द भएको थियो ।

२६ वर्षपछि २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन । केही महीनापछि विमानस्थलमा उडान बन्द बन्द गरियो ।

त्योवेला नेपाल एअरलाइन्स र तारा एअरलाइन्सको ट्विनअटर विमानले साताको दुई दिन उडान भर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार बेहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घटेर नगरपालिकालाई आर्थिक बोझ थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो ।

विमान कम्पनीले शुरूमै बागलुङ-काठमाडौँको भाडादर ६ हजार ५०० तोकेपछि यात्रुले महँगो भएको गुनासो गरेका थिए । विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावनमार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको भए पनि विमानस्थल बन्द छ भने अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुङ्गो छैन ।

त्यस्तै, गोरखाको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने योजना अलपत्र परेको बताए। “पालुङटार विमानस्थललाई हवाई तालिम केन्द्र या अन्य कुनै प्रयोजनमा लगाउनु उपयुक्त देखिन्छ, तत्कालै विमानस्थल सञ्चालनमा आउने सम्भावना देखिन्न,” उनले भने, “काठमाडौँ र पोखरा जोड्ने राजमार्गको स्तरोन्नति हुँदा यस क्षेत्रमा यातायात सेवा नै बढी प्रभावकारी हुने देखिन्छ ।”

२०१८ सालमा सञ्चालनमा आएको पालुङटार विमानस्थल २०३५ सालमा बन्द भएकार मेयर चिन्तनले बताए। काठमाडौँ-पोखरा जोड्ने पृथ्वी राजमार्ग बनेपछि यो विमानस्थल बन्द हुन पुगेको उनको भनाइ छ। विमानस्थल सञ्चालनका लागि धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरे पनि सञ्चालनमा आउन सकेको छैन।

देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकाको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ । विमानस्थलको धावनमार्ग गौचरणमा परिणत भएको छ । बर्सेनि वन्यजन्तु सिकारका लागि विदेशी हेलिकोप्टरमार्फत ढोरपाटन पुग्ने गरेका छन्। सडक यातायात पुगेपछि पर्यटकको आवागमन सहज बनेको छ ।

प्रतिक्रिया