माओवादीले शक्ति बस्नेत,रेखा शर्मा र हितबहादुर तामाङलाई मन्त्रीबाट फिर्ता बोलाउँदै


काठमाडौं–नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि आफ्ना तीनजना मन्त्री फिर्ता बोलाउने अन्तिम तयारी गरेको छ ।

यसको जानकारी प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई समेत गराइसकेका छन् ।

माओवादीले १ वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको हो ।

सत्ता गठबन्धनको बैठकमा सहभागि एक शीर्ष नेताले भने,‘प्रधानमन्त्रीजीले माओवादीका मन्त्री फेरबदल गर्ने कुरा गर्नुभएको छ । अब छिट्टै माओवादीबाट २ जना नयाँ मन्त्री बन्लान ।’

कागजपत्रलाई प्राप्त जानकारी अनुसार माओवादीबाट उर्जामन्त्री बनेका शक्ति बस्नेत,सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ फिर्ता हुनेछ ।

उर्जा र सञ्चारमा माओवादीकै नयाँ मन्त्री बन्नेछन् भने पर्यटनमन्त्री नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बन्ने सहमती भइसकेको छ ।

मंगलबार (हिजो)मात्रै बजेट पास भएको छ । अब प्रधानमन्त्री मन्त्री परिवर्तनको गृहकार्यमा लाग्ने माओवादी एक उपमहासचिवले बताए ।

माओवादीमा नयाँ मन्त्रीका लागि दर्जन बढी आकांक्षी छन् । तर चर्चामा माधव सापकोटा,महेन्द्र शाही र राजन दाहाल छन् ।

स्रोतका अनुसार माधव सापकोटा सञ्चारमन्त्री बन्नसक्ने सम्भावना बढी छ । यसबाहेक शाही उर्जा मन्त्रालयमा जाने चर्चा माओवादीमा छ ।

प्रतिक्रिया