कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, एक घाइते


कास्की- अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ ।  इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।  गएराति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ ।

उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ।

प्रतिक्रिया