
डिएसपी मिश्र ‘पुलिस अफ द मन्थ’ घोषित
काठमाडौं – जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्र फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
तीनवटा हत्या घटनाको सफल अनुसन्धान र दोषी पक्राउमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले डिएसपी मिश्रलाई पुरस्कृत गरिएको हो।
विभागीय नीति निर्देशनलाई पूर्णरुपमा पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिक र कार्य कुशलताका साथ सम्पादन गरेकाले मिश्रलाई पुरस्कृत गरिएको जनाइएको छ। डीएसपी मिश्रको कमाण्डमा गठित अनुसन्धान टोलीले २५ फागुनमा हत्या भएकी महानगढी नगरपालिका–१ की कान्तीदेवी कुशवाहाको घटनामा आरोपीहरु सोही स्थानका लालबाबु प्रसाद कुशवाहा र धनेश्वरी कुशवाहलाई पक्राउ गरेको थियो।
यस्तै, २५ फागुनमा आफ्नै साथी निजगढ–९ का रोहित शर्मालाई चक्कु प्रहार गरी हत्या गर्ने चन्द्रपुर–४ का अरुण कुमार साहलाई सोही दिनको बेलुका पक्राउ गर्न पनि डीएसपी मिश्रले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
११ फागुनदेखि हराइरहेका जितपुर सिमरा–१० का १४ वर्षीय साहिद हुसेनको हत्यामा संलग्न कियामुदीन मन्सुरी, र अमर हुसेन मिया हजाम र आवेदिन मिया अन्सारीलाई पनि पक्राउ गर्न सफल भएका थिए।



कागजपत्र |
