केपी ओलीको शरणमा परेपछि बर्खास्तीबाट बचे आईजिपी कुँवर


काठमाडौं – नेपाल प्रहरीका आईजिपी बसन्त बहादुर कुँवरलाई आईजिपीबाट बर्खास्त गर्ने तयारी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण तत्कालका लागि रोकिएको छ ।

गृहमन्त्री रवि लामिछाने र आईजिपी कुवँरबिच पछिल्लो समय दुरी बढ्दो छ । आईजिपीले आफ्नो आदेश नमानेको र नक्कली भुटानी प्रकरणमा समेत उनको भूमिका शंकास्पद देखिएको भन्दै गृहमन्त्री लामिछानेले उनलाई हटाउन खोजेका थिए ।

लामिछानेले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत कुरा गरेका थिए । त्यतीबेला प्रधानमन्त्री पनि रविको प्रस्तावमा सहमत भएको विश्वस्त स्रोतको दाबी छ ।

आईजिपी बर्खास्तीको चर्चा ब्यापक भएपछि जेठ ३२ गते शुक्रबार बिहान बसन्त बहादुर कुँवर,सशस्त्र प्रहरी बलका आईजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सयुक्त रुपमा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई तीनै जनाले आईजिपीले कुँवरलाई हटाउने हल्लाबारे चासो राख्दै त्यस्तो कमद नचाल्न आग्रह गरेको भेटमा सहभागि एकले बताए ।

प्रधानमन्त्रीसँगको भेटमा सहभागि एकले भने, ‘हामीले आईजिपी हटाउने विषयमा कुरा राख्यौं । आईजिपी हटाउने विषयमा कुरा राखेपछि प्रधानमन्त्री धेरै बोल्नुभएन् । अहिले केही हुँदैन भन्नुभयो ।’

सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले यसबारे सत्तारुढ दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीलाई समेत भेटेर कुरा राख्न संकेत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको संकेतपछि शुक्रबार राति नै आईजिपी कुँवर एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बाल्कोट पुगेका थिए ।

विश्वस्त स्रोतका अनुसार आईजिपी कुँवर जेठ ३२ गते राति ८ बजेर १० मिनेट जाँदा ओली निवास छिरेका थिए । उनी  त्यहाँबाट ९ बजेर १० मिनेटमा निस्किएका थिए ।

१ घण्टा चलेको भेटमा आईजिपी कुँवरले ओलीसँग आफ्नो कुरा राखेका थिए । सो भेटमा ओलीले प्रधानमन्त्री र गृहमन्त्रीसँग यसबारे आफुले कुरा गर्ने र हटाउन नदिने बताएको स्रोतको दाबी छ ।

ओलीले आईजिपी कुँवरलाई ‘तपाईलाई अन्याय हुन दिन्न’ भनेका थिए ।

यसपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आईजिपीबारे कुराकानी भएको र आइतबार

चितवन पुगेका प्रधानमन्त्रीले आईजिपी हटाउने विषय हल्लामात्रै भएको प्रतिक्रिया दिएका थिए ।

ओलीलाई भेटेपछि तत्कालका लागि आईजिपीमाथिको ‘एक्सन’ रोकिएको छ । तर गृहमन्त्री लामिछाने भने सन्तुष्ट नभएको गृहका अधिकारीहरु बताउँछन् ।

उनले अनुकुल समयमा आईजिपीमाथि एक्सन लिने आफु निकटलाई बताउँदै आएका छन् ।

आईजी कुँवर तत्कालीन समयमा अपराध महाशाखाको एसएसपी हुँदा भुटानी शरणार्थीबारेको उजुरीसहितका अन्य फाइल उनले लुकाएको गृहको आन्तरिक छानबिनबाट खुलेपछि लामिछाने आईजिपी कुँवरसँग रुष्ट बनेका थिए ।

उनले अझै पनि आईजिपीलाई हटाउनुपर्ने अडान नछाडेको रवि निकट स्रोतको दाबी छ ।

आईजिपीले कतिपय निर्देशन नमानेको लामिछानेको दाबी छ । कुँवरलाई हटाएर गृहमन्त्री लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एआईजी श्याम ज्ञवालीलाई आईजिपी बनाउन खोजेका छन् ।

ज्ञवाली प्रधानमन्त्री प्रचण्डसँगै गृहमन्त्री लामिछाने निकट मानिन्छन् । ज्ञवालीलाई आईजीपी बनाउन प्रचण्डकै ज्वाईं जीवन आचार्य र केही व्यापारी समेत सक्रिय छन् ।

प्रतिक्रिया