शिक्षिकासँगै मिलेर वीरभानको हत्या गर्ने अटोचालक जंगलबाट पक्राउ, ५ विरुद्ध किटानी जाहेरी
काठमाडाैं- बैतडीको पाटन नगरपालिका-६ घर भएका ५१ वर्षीय ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न रहेको आरोपमा फरार रहेकाे थप एकजना पक्राउ परेका छन् ।
आइतबार बिहान घरबाटै फरार रहेका पाटन नगरपालिका-६ का करिब २६ वर्षीय आशिष पहरी (पुन्टु)लाई पाटन नगरपालिका- १ समैजी जंगलबाट पक्राउ गरिएको हो ।
एउटा खाली घरमा लुकिरहेका उनी प्रहरी देखेपछि जंगलततर्फ भागेका थिए । त्यसपछि थप प्रहरी परिचालन गरेर उनीलाई जंगलबाट पक्राउ गरेको स्रोतले बताएको छ । आषिश अटो चालक हुन् । तर उनको अटो मर्मतका लागि धनगढीमा छ । पहरीकी श्रीमती विदेशमा छिन् ।
मृतक बिरभानका आफन्तले उनीसहित पाँच जनाविरुद्ध मंगलबार किटानी जाहेरी दर्ता गरेका छन् । यसअघि पाटन नगरपालिका-६ की ३६ वर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन नगरपालिका-६ का करिब ३८ वर्षीय भरतमोहन बिष्ट, पाटन नगरपालिका-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
पक्राउ परेका चारैजनामाथि प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले सडक आन्दोलन गरेका छन् । अहिले शव पोष्टमार्टम गरिएको छ । तर शव नबुझने अडानमा आफ्न्त छन् ।
असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका- ६ स्थित घाङल खोलामा फेला परेको थियो । सहस्त्रलिंग आधारभूत विद्यालय पाटन-६ की शिक्षिका समेत रहेकी भागरथीले बिरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।