सुदूरपश्चिम माओवादी सांसदमा दुई धार, प्रचण्डले बोलाए काठमाडौं


काठमाडौं -सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको विवाद चर्किदै गएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सहभागिताको विषयलाई लिएर विवाद बढ्दै गएको हो ।

विवाद बढ्दै गएपछि पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सांसदलाई काठमाडौं बोलाएका छन् ।

सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन् ।

सुदूरपश्चिममा नेकपा माओवादीबाट सुदूरपश्चिम सरकारमा मन्त्री सिफारिस गरेपछि पार्टीभित्र विवाद आएको थियो ।

संसदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् ।

संसदिय दलमा सभामुख बाहेक माओवादी केन्द्रका १० सांसद छन् । पाँचजना मन्त्री सिफारिसमा असन्तृष्ट छन् ।

माओवादीबाट ओमविक्रम भाट ‘सरल’, अक्कल रावल र लक्ष्मी विक प्रदेश सरकारका मन्त्री बनिसकेका छन् ।

खासगरी सरकारमा मन्त्री पठाउँदा पार्टी र दलमा समेत छलफल नगरेकाले प्रदेश इञ्चार्ज गिरिराजमणी पोखरेल असन्तृष्ट देखिएका छन् ।

उनकै पहलमा सबै सांसदलाई काठमाडौं बोलाएर अध्यक्ष प्रचण्डसँग कुरा हुने बताइएको छ ।

सांसदसँग मंगलबार (भोली) प्रचण्डले छलफल गर्ने तयारी छ । सुदूरपश्चिममा संसदीय दल र पार्टीमा माओवादीभित्र लामो समयदेखि विवाद चर्किदै आएको छ ।

पार्टी स्थायी कमिटी सदस्य समेत रहेका संसदीय दलका नेता खगराज भट्टलाई दल नेतालाई बहुमत सासंदले हटाएर मानबहादुर धामीले दल नेता चयन गरेका थिए ।

सो समयमा भट्टको पक्षमा चार र धामीको पक्षमा ६ जना देखिएका थिए । तर मन्त्री नियुक्तीपछि भट्ट समुहमा पाँच र धामी समुहमा पनि पाँचजना सांसद छन् ।

प्रतिक्रिया