सुदूरपश्चिममा माओवादीबाट को–को बन्दैछन् मन्त्री ? यी हुन् दाबेदार


काठमाडौं – मुख्यमन्त्री नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् । दिर्घ सोडारी नेतृत्वको सरकारमा समान हैसियतका दुई ठुला दल नेकपा माओवादी र नेकपा एमाले सहभागि भएको छैन ।

प्रदेश सरकारको बजेट ल्याउने अन्तिम तयारीको बेला समेत सरकार विस्तार नभएकाले अब तत्काल सरकारमा सहभागि हुने वा नहुनेमा माओवादी एमाले अन्यौलमा छन् ।

एमाले माओवादी नेताहरुले सुदूरपश्चिममा सरकार विस्तारमा केन्द्रले चासो नदिएको आरोप लगाएका छन् । हाल मुख्यमन्त्रीबाहेक नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री छन् । सरकार विस्तारमा ढिलाई भएपनि माओवादीभित्र मन्त्रीका लागि आकांक्षीको दौडधुप छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनीहरुले आफुलाई मन्त्री बनाउनुपर्ने माग गरेका छन् । तर दुवै जना दोहरिने सम्भावना न्युन रहेको माओवादी केन्द्रका एक पदाधिकारीले बताए ।

माओवादी केन्द्रका सभामुख बाहेक सुदूरपश्चिममा १० जना सांसद छन् ।

१० जनामध्ये यसअघि कमल शाह नेतृत्वको सरकारमा माओवादीका झपट साउद, रमेश धामी र गितादेवी माल सहभागि भएका थिए । ८ महिना नपुग्दै सत्ता गठबन्धन परिवर्तन भएपछि उनीहरु सरकारबाट बाहिरिएका थिए । त्यसकारण तत्कालीन समयमा सरकारमा रहेका साँउद र रमेश धामीलाई मन्त्री दोहर्याउन समेत माग छ ।

तर अहिले माओवादीबाट ओमविक्रम भाट, झपट साउद, अक्कल रावल र शिवसिंह ओलीको नाम चर्चामा छ । राज्यमन्त्रीमा लक्ष्मी विकको नाम चर्चामा छ । भाट कञ्चनपुरबाट निर्वार्चित सांसद हुन् । माओवादी नेताहरुका अनुसार माओवादीबाट भाट मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।

तर पार्टी केन्द्रीय सदस्य र दार्चुला इञ्जार्ज रहेकी विकले राज्यमन्त्री अस्वीकार गरेकी छन् । उनले आफु मन्त्रीकै लागि योग्य रहेको र पार्टीले आफुलाई न्याय गर्नेमा विश्वस्त रहेको बताइन् ।

यसबाहेक अछामबाट निर्वाचित झपट साउँद र अक्कल रावलको नाम पनि चर्चामा छ । ८ महिनामै बाहिरिनु परेकाले झपट दोहरिने सम्भावना समेत रहेको नेताहरु बताउँछन् । तर अछामबाट दुईपटक अक्कल रावल निर्वाचित भएकाले उनलाई मन्त्री बनाउन पार्टीभित्रै दबाब छ ।

तर यसअघिको सरकारमा अछामबाट झपट साँउद मन्त्री भैसकेकाले तत्काल डोटीबाट निर्वार्चित सांसद शिव ओलीलाई मन्त्री बनाउनुपर्ने माग पनि माओवादीभित्र छ । माओवादीबाट दुईजना मन्त्री बन्ने सम्भावना छ ।  मन्त्रीको अन्तिम टुङ्गो भने पार्टी अध्यक्ष प्रचण्डको निर्देशनमा हुनेछ ।

खगराज भट्टले भने मन्त्री पद नखाने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया