कैलाश सिरोहियाका छोरा भन्छन्- सहकारी घोटालाको समाचार लुकाउन गृहमन्त्रीले ‘रिक्वेस्ट’ गर्नुभएको थियो


काठमाडौं – कान्तिपुर ग्रुपका प्रवन्ध निर्देशक सम्भव सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन आफूहरुलाई धेरैपटक आग्रह गरेको आरोप लगाएका छन् ।

बुवा कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई केही समयअघि प्रहरीले पक्राउ गरेको विषयमा बोल्दै उनले सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा गृहमन्त्री लामिछानेले धेरै रिक्वेस्ट गरेर समाचार लुकाइदिन र मिलाइदिनका लागि आग्रह गरेको तर उक्त कार्य नभएपछि प्रतिशोध साँधेर गृहमन्त्रीको पद दुरुपयोग गरेर आफ्ना बुवासमेत रहेका कान्तिपुरका अध्यक्ष कैलाशलाई पक्राउ गराएको आरोप उनले लगाए ।

‘हामीले कहिल्यै कान्तिपुरलाई व्यापारका रुपमा हेरेनौँ । माओवादी, एमाले, कांग्रेस, राप्रपा कुनै पनि दल दुर्व्यवहार र भ्रष्टाचारका विरुद्ध कान्तिपुरले जहिले पनि स्ट्यान्ड लिएको छ । लिइराख्ने छ,’ उनले भने, ‘यसैगरी आज एउटा अर्को नयाँ दलको भ्रष्टाचार देखिँदा कान्तिपुरले त्यसलाई लुकाउन सक्दैन । सत्यलाई जनताका माझ लिएर आउनुपर्छ । यसपालि  रास्वपाका सभापति रवि लामिछाने, अहिले जो गृहमन्त्री छन् उहाँको सहकारी घोटाला जनतामाझ ल्याउने क्ममा उहाँले धेरै रिक्वेस्ट गर्नुभयो। समाचार लुकाइदिन र मिलाइदिनका लागि । उहाँले पहिले आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभयो । उहाँले कति बुझाउन खोजियो व्यवस्थापनले समाचार लेख्दैन र कान्तिपुरमा सम्पादकीय समूह स्वतन्त्र छ । उहाँले यो कुरा बुझ्न सक्दै सक्नुभएन ।’

प्रतिक्रिया