सहकारी ठगहरूलाई राज्यले नै संरक्षण गरिरहेको छ : चित्रबहादुर केसी


काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको बचत हिनामिनामा संलग्नहरूलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बुधबार पोखरामा सहकारीको बचत फिर्ता नपाएर आन्दोलन गरिरहेकाहरू माथि सरकारले डन्डा बर्साएको बताएकाे बताए ।

‘हिजोभन्दा पहिले सम्माननीय प्रधानमन्त्री पोखरा जाँदा ती सहकारीपीडितहरूले विनम्रतापूर्व बिन्ती पत्र हालेका थिए– हामीले खाइ नखाइ जम्मा गरेको पैसा, हाम्रो रगत पसिना सीमित टाठाबाठाले लुटे, खाए भने । त्यो विचलन गर्नेहरू अहिले कुनै कुनामा ढुक्कसँग बसेका छन् । गण्डकीमा, ढोरपाटनमा मेयर भूमिगत छन्। यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ । यहाँ संसदमा भएका धेरै सांसदलाई थाहा छ, सहकारीको पैसा कसले अपचलन गरेको छ?,’ उनले भने।

उनले  चोरलाई चौतारो र साधुलाई दण्डको शैलीमा सरकार प्रस्तुत भएको बताएका छन्। ‘सहकारीको बचत हिनामिना कसले गरेको छ भने राज्यसत्तामा जसको रजाइँ छ। अझ हुँदाहुँदा चोरलाई चौतारी, पीडितलाई दण्ड भनेझैं पीडितहलाई हिजो डन्डा बर्साइयो । कयौं अस्पतालमा छन्, कयौं बिलखबन्दमा छन् । यही हो ? जसले लोकतन्त्र ल्याउन साथ दिए, उनैलाई अन्याय,’ उनले भने ।

 

प्रतिक्रिया