देउवासँग छलफल गर्न बुढानीलकण्ठमा उपेन्द्र र महन्थ


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेश केन्द्रित दलका नेताहरूलाई बैठकका लागि बोलाएका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पुगेका छन् ।

देउवाले मधेश प्रदेश सरकारका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ । लोकतान्त्रिक समाजवादीका नेता सुरेन्द्र झाले काँग्रेस सभापतिले बैठकमा बोलाएको जानकारी दिए । मधेशमा सरकार गठन र केन्द्रमा विपक्षी दलहरू सहकार्य गर्नेबारे छलफल हुने उनले बताए ।

मधेसमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत भने लिएका छैनन् । यादव जसपा नेपालबाट मुख्यमन्त्री बनेका हुन् । संघको सरकारबाट जसपा नेपाल बाहिरिएको छ भने मधेशमा अल्पमतमा परेको छ ।

मधेशमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ । काँग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि लागि ५४ सांसद आवश्यक पर्दछ ।

प्रतिक्रिया