

नेता नेपाल पक्षसँग बैठकमा कसरी प्रस्तुत भए प्रधानमन्त्री ओली?

काठमाडौं– आइतबार मात्रै एउटा अन्तरवार्ताका क्रममा नेता माधवकुमार नेपाल पक्षलाई पेलेरै जाने संकेत दिएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार धुम्बाराहीमा वार्ता गरे।
तीन महिनापछि आमने–सामने हुने अवस्थामा नेपाल पक्षसँग ओली कसरी प्रस्तुत भए होला? नेकपा विभाजनको अवस्थामा पुगेको र प्रतिनिधि सभा विघटनको निर्णयपछि देखिएको राजनीतिक विवाद र सभामा एक पक्षले अर्कोलाई सकेसम्म खुइल्याउनेगरी प्रस्तुत भएकाहरू कसरी आमने सामने कुन हाउभाउमा देखा परे होला?
खासगरी प्रधानमन्त्री ओलीको प्रस्तुती कस्तो भयो होला भन्ने चासो थियो। तर प्रधानमन्त्री ओली नरम र सामान्य हिसाबले नै बैठकमा प्रस्तुत भएको बताइएको छ।
‘बैठक सौहार्दपूर्ण भयो, आरोप प्रत्यारोपका विषयमा कुराकानी भएनन्। सांगठनिक निर्णयका विषयमा मात्रै भयो’, बैठकमा सहभागी एक नेताले भने,‘२८ गते प्रधानमन्त्रीले गरेको निर्णय फिर्ताको कुरा उठ्यो। तर उहाँले भइसकेको निर्णय फिर्ता गर्न नमिल्ने भन्नुभयो, साधारण हिसाबले।’
सोही विन्दुमा पुगेर नै एक अर्का पक्षको अडान कायम रहेको बताइएको छ। त्यसको समाधानको उपाय खोज्नका लागि ओली राजी भएका छन्। ‘त्यस्तो वार कि पारको जस्तो अवस्थामा थियो सभाका भाषण र एकअर्काको आरोप प्रत्यारोप। तर दुवै पक्षले ति विषयलाई गौण बनाई समाधानकै निम्ति छलफल केन्द्रित राखे’, ति नेताले भने।
बैठकमा सहभागी नेता भिम रावल, रघुजी पन्तलगायतले पनि बैठक साधारण र सौहार्दतामा नै भएको बताए। तर समस्या समाधानका निम्ति छलफल जारी राखिने कुराकानी भए पनि कहिले अर्को बैठक बस्ने भन्नेचाहिँ मिति तोकिएन।

