
पशुपतिको भेटी चोरीका मुख्य योजनाकार कोषका कोषाध्यक्ष सुवेदी !
काठमाडौं- पशुपतिको भेटी चोरीका मुख्य योजनाकार पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी रहेकाे पाइएकाे छ । सुवेदीको योजनामा नै भेटी चोरी गर्दागर्दै कर्मचारीसहित ८ जना रंगेहात पक्राउ परेका हुन् ।
सोमबार पशुपति क्षेत्र विकास कोषका ७ सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियाे । कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाल, कुमार दमाई र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूले संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको छ ।
पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन् । परियारले सुवेदीकै निर्देशनमा दैनिक ३ हजारदेखि १५ हजारसम्म लग्ने गरेको बयान दिएका छन् । उनले ज्याकेटमा लुकाएर लगेकाे रकम सुवेदीकाे जिम्मा लगाउने गरेको बताएका छन् ।
कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको छ । सीसीटीभीको निगरानीका क्रममा सोमबार चोरी कार्यमा संलग्नको पहिचान भएपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएर पठाइएको हो ।



कागजपत्र |
