

९० दिनपछि प्रधानमन्त्री ओली र एमाले नेता नेपाल आमने सामने, सम्भव हुनुको कारण यस्तो छ

काठमाडौं– ९० दिनपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता सम्भव भएको छ।
नेकपा रहँदादेखि खरो अन्तरविरोध रहेका दुई नेताको सर्वोच्च अदालतले पार्टी एकता खारेज गरेपछि हुन लागेको यो पहिलो भेट हो। ओलीले एकलौटी रुपमा एमालेमा निर्णय गराई आगामी महाधिवेशनसमेत घोषणा गरिसकेका छन्। उनले ७ चैतमा केन्द्रीय कमिटीको बैठक डाकेका छन्।
नेता नेपाल समूहले भने समानान्तर कमिटी गठन गर्दै ओलीको निर्णय नमान्ने जनाएका थिए। तर, ७ चैतको केन्द्रीय कमिटीको बैठकलाई लक्षित गरी ओलीले एमालेका सबै सदस्यलाई मंगलबार बालुवाटारमा चियापानका लागि डाकेपछि संवादहिनता अन्त्य हुन लागेको हो।
संगठित अवस्थामा रहेको एमालेमा सहमति गरी अगाडि बढाउनका निम्ति ओली समूहबाट शंकर पोखरेल र नेपाल समूहबाट घनश्याम भुसाल सक्रिय रहेका थिए। ‘पोखरेल र भुसालको भेटवार्ता र सक्रियताका कारण ओली–नेपाल भेटवार्ता हुन लागेको हो’, उच्च स्रोतले भन्यो।
प्रतिनिधि सभा विघटन भएयता दुई नेताबीच भेट भएको थिएन। त्यसअघि बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा मात्रै आमने सामने भएका थिए।
ओली–नेपालबीचको अन्तरविरोधमा तेस्रो पक्षले खेलेका कारणले नेकपामा विग्रह आएको बताइएको थियो। त्यो तेस्रो पक्षका रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहेको ठहर गरिएको थियो। यति मात्र नभएर उपाध्यक्ष बामदेव गौतमको भूमिकाका कारणले पनि नेकपामा विग्रह आएको बताइएको थियो। ओली–नेपाल समूहमा यो समान धारणा पनि बनिसकेको छ।
त्यसअघि प्रचण्ड र नेपालबीच आइतबार साँझ भेटवार्ता भएको थियो। कम्युनिस्टको बहुमतको सरकार गुम्न नदिने विषयमा पनि ओलीसँग नेपालले चर्चा गर्ने अनुमान गरिएको छ।

