
आयोग पुग्यो एमालेको विवाद: ओलीको निर्णयविरुद्ध नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यहरुले गरे हस्ताक्षर
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले गत शुक्रबार गरेका निर्णयहरुको कार्यान्वयन रोक्न माग गर्दै माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा पत्र बुझाएको छ।
ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित उनी पक्षीय पदाधिकारी र स्थायी कमिटी सदस्यहरु आयोग पुगेका हुन् ।
सर्वोच्चले २३ फागुनमा नेकपा एकीकरण खारेज गर्दै एमाले र माओवादी ब्युँताएपछि ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर महासचिवबाहेकका पदाधिकारी हटाउने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेका थिए ।
ओली पक्षले गरेको निर्णयलाई वैधानिकता नदिन अनुरोध गर्दै आईतबार आयोगमा बुझाएको पत्रमा नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यहरुले हस्ताक्षर गरेका छन् । पत्रमा पार्टीको विधानको धारा १३ र १३ (क) बमोजिम पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने स्मरण गराइएको छ।
‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ। केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा (एमाले)को विधि, पद्धति र अभ्यास रहँदै आएको छ। त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकुल ठहरिदैनन्’, पत्रमा भनिएको छ।



कागजपत्र |
