

‘मदन भण्डारी र जीवराज आश्रितकाे षड्यन्त्रपूर्ण ढंगले हत्या भएको हो’

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा ३१ औं मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले मदन–आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको बताए ।
उनले भने, ‘लोकप्रिय ढंगले उहाँहरु नेपाली जनताको बीचमा स्थापित भइरहनुभएको थियो। त्यस्ता नेताहरुको असाध्यै षड्यन्त्रपूर्ण ढंगले र रहष्यपूर्ण ढंगले हत्या भएको हो’ उनले भने, ‘कुनैपनि पाखाबाट खनिएको बाटोमा गइरहेको गाडी मुग्लिनबाट नारायणघाटबाट गइरहेको गाडी भित्तातिरबाट हिँड्छ, भित्ताबाट हिँडेको गाडी कसरी खोलातिर खस्न सक्छ । लक भएको गाडीबाट उहाँहरुको शव कसरी बाहिर गयो । ३० वर्ष होस् की सय वर्षपछि होस्, हत्या हत्या नै हो।’
नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गर्ने नेताहरु भएकाे बताए ।

