
काठमाडौंको बानेश्वरमा फल्चा शैलीकाे बस बिसौनी
काठमाडौं- अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् । फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीय बासीले निगरानी गर्नेछन् । स्थानीयहरूको निगरानीमा नगर प्रहरीले सहयोग गर्नेछ ।
वडा सचिव सुवोध खड्काका अनुसार उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको बिसौनी आजबाट सञ्चालन भयो । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ।
यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ हो । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका बत्ती पनि जडान गरिएका छन् ।



कागजपत्र |
