

सन्दीप ‘सफाई’ पछि विश्वकपमा कि, ‘दोषी’ पछि जेलमा ?
सन्दीपको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा पहिलो नम्बरमै सुनुवाइ हुँदै

काठमाडौं – पाटन उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको मुद्दाको पेसी तोकिएको छ । पटक–पटकपछि सर्दै आएको मुद्दामा आज सुनुवाई भएर सन्दीप निर्दोष ठहरिएमा अर्को महिनादेखि सुरु हुने विश्वकपका लागि नेपाली टिममा सन्दीप सहभागि हुने सम्भावना रहेको छ ।
आजको मुद्दा उच्चका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा पहिलो नम्बरमै परेको छ । त्यसकारण आज सन्दीपको मुद्दामा सुनुवाई हुने सम्भावना देखिएको छ । सुनुवाई सुरु भएको खण्डमा १÷२ भित्रैमा फैसला आउने सन्दीप पक्षका कानुन व्यवसायीहरुले जनाएका छन् । तर, गौशाला–२६ पक्षका कानुन व्यवसायी भने यसपटक पनि मुद्दा पछाडी धकेलेर सन्दीपलाई विश्वकप खेल्नबाट बञ्चित गराउने ध्याउन्नमा रहेको समेत दाबी गरिएको छ ।
नेपाली क्रिकेटप्रेमीहरुको अदालतबाट सन्दीपले सफाई पाएर विश्वकप खेल्न पाउने अपेक्षा लिएका छन् । समर्थकहरुले केही सातादेखि नै सन्दीपको पक्षमा प्रदर्शन गर्दै आइरहेका छन् ।
सन्दीपको रिहाईसँगै विश्वकपमा सहभागिताको पक्षमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीले उच्च अदालतका न्यायाधीशहरुले यस मुद्दामा सन्दीपलाई सफाई दिएमा सधैं क्रिकेटप्रेमीको नजरमा ‘असल न्यायाधीश’को रुपमा रहने पनि जनाए । उनले भने, ‘श्रीमान्हरुका लागि अवसर हो, यो मुद्दामा फैसला गरेर सन्दीपलाई विश्वकपमा सहभागि हुने अवसर दिनु राष्ट्र र क्रिकेटप्रेमीहरुको लागि ठूलो गुन लगाउनुहुनेछ, जसले फैसला गर्नुहुनेछ उहाँ सधैं नेपाली क्रिकेटप्रेमीको नजरमा उत्कृष्ट न्यायाधीश ठहरिनुहुनेछ ।’
न्यायाधीशद्वय भट्ट र उप्रेतीलाई मुद्दालाई प्राथमिकताका साथ सुनुवाई गराएर सन्दीपलाई सफाई दिएमा क्रिकेटप्रेमीबाट ‘वाहवाही’ समेत पाउने संकेत समर्थकहरुको भावनाबाट देखिइसकेको छ ।
गौशाला–२६ नामक युवतीले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेपछि सन्दीप पुनरावेदनका लागि उच्च अदालतमा गएका थिए । जिल्ला अदालतले नाबालिका भनिएकी ती युवती बालिक भएको फैसला गर्दै सन्दीपलाई जर्बजस्ती करणीमा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय तोकेको थियो ।

