योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछः उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं- उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् ।

राजधानीको सोल्टी होटलमा आयोजना गरिएको नेपाल स्वास्थ्य सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताए ।

‘नेपालको बजेट प्रणालीमा सबै खर्च रोग, त्यसको उपचार र साधनस्रोतमा खर्च भइरहेको छ । यसैको एउटा हिस्सालाई रोकथाममा खर्च गर्न जरुरी छ ’ उपप्रधानमन्त्री श्रेष्ठले भने,  ‘यसका लागि हामीले यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेका छौं ।’

आफू गृहमन्त्री रहँदा मातहतका सबै निकायलाई योग र ध्यानको शिविर राखेको प्रसंग सम्झिँदै उपप्रधानमन्त्री श्रेष्ठले अहिले परराष्ट्र मन्त्रालयका निकायमा र विदेशी नियोगमा समेत कार्यपूर्व दैनिक योग र ध्यान गराउन लागिएको प्रसंग सुनाए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले स्वास्थ्य सेवाका विविध पक्षमा बहसको आवश्यक्ता रहेको बताए । नेपालमा हालसम्म आउँदा जनताको स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको भन्दै अब स्वास्थ्य सेवाका मोडलहरुका बारेमा चर्चा गने बेला आएको बताए ।

स्वास्थ्य सम्मेलनको क्रममा विभिन्न ६ वटा विषयमा माथि विज्ञहरुका बीचमा छलफल हुँदैछ । यो सम्मेलनको दोश्रो संस्करण हो ।

प्रतिक्रिया