

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पहिलो व्यक्तिको निधन

काठमाडौं- आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ ।
६२ वर्षीय रिचर्ड ‘रिक’ स्लेम्यानको शल्यक्रिया गरेको दुई महिनापछि मृत्यु भएको अस्पतालले जनाएको हो ।
स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसबेला डाक्टरहरुले उनको शरीरमा राखिएको सुँगुरको मिर्गौलाले कम्तिमा पनि २ वर्ष काम गर्ने बताएका थिए ।
शनिबार अस्पताल र उनका परिवारले स्लेम्यानको मृत्यु भएको पुष्टि गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरुको टिमले विज्ञप्ति प्रकाशित गर्दै स्लेम्यानको मृत्युबाट आफू निकै दु:खी बनेको बताएको छ ।

