

प्रचण्ड समूहलाई ओलीको कटाक्ष- विपक्षीहरू रुन खोज्दै छन्

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नै जनाताको लागी सर्वेसर्वा भएको बताएका छन् ।
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दैै प्रधानकन्त्री ओलीले जनताको विषयमा सोच्ने र जनतालाई हेर्ने आफ्नो पार्टीबाहेक अरू नभएको दावी गरेका हुन् ।
सम्बोधन कै क्रममा ओलीले आफ्नो पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पूरा गर्ने दौडमा रहेको बताउँदै उनले आफूहरूबाहेक अरुले जनतालाई नहेरेको जिकिर गरे ।
‘यस देशमा जनतालाई हेर्न हामीबाहेक अरु को छ ? गफ गरेर हुन्छ ?,’ उनले भने, ‘२०५१ सालमा हामीले १ सय रुपैयाँमा सुरु गरेको सामजिक सुरक्षा भत्ता, अहिले त्यसलाई ५ हजार पुर्याउने हाम्रो लक्ष्य छ, ४ हजार त छिट्टै पुर्याउँछौं, जनतालाई हेर्ने कोही छ अरु ?’
आफूहरू जनताको माया पाएको देखेर विपक्षीहरू रुन खोजेको ओलीले बताए । एक भइरहेको पार्टी फुटाएर टालाटुलीको सरकार बनाउन पुष्पकमल दाहाल कुदेको उनको आरोप छ । ‘टालाटुली सरकार बनाउन कुद्या छ, प्रधानमन्त्री खाइदिनुस् भनेको छ,’ उनले भने ।
यसैबीच ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् । निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै उनले कारबाहीको संकेतसमेत गरेका छन् । ‘७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला,’ उनले भने, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’
आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको ओलीको ठहर छ । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए ।

