बिरामीको मृत्युपछि गौरीगञ्ज अस्पतालकाे सेवा बन्द, लापरवाही गर्ने डाक्टर र नर्सलाई कारबाही


झापा- झापाको गौरीगञ्ज आधारभूत अस्पतालमा तोडफोड भएपछि अनिश्चित समयका लागि बन्द गरिएको छ । अस्पतालकाे सर्भर तथा अन्य विभिन्न भौतिक संरचनाहरुमा क्षति पुगेका कारण अस्पतालका सम्पूर्ण सेवाहरू प्रवाह गर्न नसकिने अवस्था पैदा भएकाले अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सेवाहरु बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण महतोले सूचना जारी गरी जनाएका छन् ।

तोडफोडबाट अस्पतालमा लाखौंको क्षति भएको जनाइएको छ । झाडापखाला लागेका एक बालकको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले बिहीबार गौरीगञ्ज अस्पताल तोडफोड गरेका थिए ।

गौरीगञ्ज गाउँपालिका- ६ खजुरगाछीका रामदेव महतोका ११ वर्षीय छोरा महेशकुमार महतोको झाडापखालाका कारण मृत्यु भएको थियो । समयमा दमक नपठाएको र राम्रो उपचार नगरेको भन्दै आक्रोशित आफन्त तथा स्थानीयले गौरीगञ्ज अस्पतालमा तोडफोड गरेका हुन् ।

हिजाे दिनभरिको तनावपछि साँझ गौरीगञ्ज अस्पताल व्यवस्थापन समिति र पीडित पक्षबीच सहमति भएको छ । डाक्टर र कर्मचारीको लापरवाहीका कारण बालकको मृत्यु भएको ठहर गर्दै अस्पतालका डा. अरविनकुमार राजवंशी, स्टाफ नर्स मनिसा सिंह गनगाई र एचए भावना कार्कीलाई तत्काल पदबाट निलम्बनसहित कानुनी कार्वाही गर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको हो ।

 

प्रतिक्रिया