आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूलाई कारबाही हुँदै


काठमाडौं- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अङ्कित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो ।

उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घण्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ ।

यसरी पार्टीको झण्डा वा लोगो भएका कुनै पनि बस्तु लगाएर मतदानस्थालमा जानु निर्वाचन आचारसंहिताविपरीत हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारबाहीको पूर्ण अधिकार दिइएको बताएका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो। इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम र रास्वपाका लिम्बूबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

 

प्रतिक्रिया