औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर: स्वास्थ्यमन्त्री श्रेष्ठ


काठमाडौं- बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले नियमसंगत सर्वसुलभ औषधिको उपलब्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गरे सरकारसँग आत्तिन नपर्ने बताएका छन् । उनले व्यवसायीलाई सरकार सहयोग गर्न तत्पर रहेको समेत बताए ।

शुक्रबार हेटौंडामा भएको  नेपाल औषधि व्यवसायी संघको तेस्रो वार्षिक साधरणसभा तथा दोस्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले सर्वसुलभ औषधिको उपलब्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशमा भएका सबै औषधी व्यवसायीसँगै उत्पादन गर्ने देखि आयात र निर्यात गर्नेहरूलाई समेत एक बनाएर अगाडि बढ्न सुझाएका उनले औषधि व्यवसायलाई थप व्यवस्थित ढंगबाट अगाडि बढाएर आर्थिक अनुशासन देखिने गरी कार्य गर्नुपर्ने धारणा राखे । उनले सरकार व्यवसायीमैत्री हुने बताए ।

‘औषधीको गुणस्तरमा ध्यान दिनु सरकारी पक्षको मात्र काम होइन । यसमा निजी संस्थाका व्यवसायी साथीले पनि आफ्नो दायित्व पूरा गर्न सक्रिय रूपमा लाग्नुहुन्छ  भन्ने विश्वास लिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘औषधी व्यवसायीलाई   बलियो बनाउन बागमती प्रदेश मन्त्रालय सधैँ तत्पर रहन्छ ।’

सबै औषधी व्यवसाय नाफामूलक नहुने तर कुनै व्यवसाय समाजमा नाफा कमाउनकै लागी खोलिने भएकाले त्यस्ता व्यवसायलाई शुद्धीकरण गर्दै लैजान मन्त्री श्रेष्ठले व्यवसायीलाई सुझाउँदै नयाँ नेतृत्व लिएर आउनेले औषधी व्यवसायीको हितको लागी काम गर्नुपर्ने धारणा राखे ।

 

प्रतिक्रिया